काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउन आग्रह गर्नुभएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं. १ को घरदैलो कार्यक्रममा सहभागी हुनुभएका नेता भट्टराईले २०७९ कात्तिक २५ गते संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताउनुभएको हो ।
‘देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु’ उहाँले भन्नुभयो ।
पूर्व प्रधानमन्त्री डा. भट्टराईले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको बताउनुभयो । गठबन्धनलाई बलियो बनाए मात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुन सक्ने उहाँको भनाइ छ ।
काठमाडौँ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा काङ्ग्रेसका पूर्व महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रदेशसभा (१) मा दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा (२) मा सुरजचन्द्र लामिछाने उम्मेदवार बन्नुभएको छ ।