काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिनुभएको छ ।
अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन निर्वाचन उहाँले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।
उहाँले गत स्थानीय तहको निर्वाचनमा दृष्टिबिहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताउनु भयो ।
गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले मतदानको सन्दर्भमा आफू अशक्त भएको बहाना बनाइ पक्षधर व्यक्तिलाई मतदान गर्न दिन गम्भीर प्रकृतिको कसुर भएकाले त्यसो नगर्न पनि सचेत गराउनु भयो ।
उहाँले यदी कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरुमार्फत मतदान गराउने किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने चेतावनी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी यस पटकको निर्वाचन लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमूना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्न पनि सम्बन्धित पक्षहरुलाई आग्रह गर्नुभयो ।