काठमाडौँ । नेपालमा विदेशी जासुसी संस्थाको सक्रियताबारे अनुसन्धानमूलक सामग्री पस्कने पत्रकार सरोजराज अधिकारी काठमाडौँको सुन्धारास्थित सिद्धार्थ होटलमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि आज उहाँकी पत्नीले प्रहरीमा निवदेन दिनुभएको थियोे । प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो ।
अधिकारीको मृत्यु छ बजेदेखि ७ बजेभित्र भएको अनुमान गरिएपनि पोस्मार्टम रिपोर्ट नआउन्जेसम्म यकिन गर्न नसकिने प्रहरीले जनाएको छ ।
घटनास्थलमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान सुरु गरेका छन् ।
पत्रकार अधिकारले “चक्रव्यूहमा चन्द्रसूर्य”, “जासुसीको जालो” जस्ता पुस्तक लेखेर नेपालमा विदेशी जासुसी संस्थाको सक्रियताबारे चिरफार गरेका थिए ।
उनले कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका थिए ।