काठमाडौं । निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (क) मा मनोनयन दर्ता गर्नका लागि बिहीवार समय तय गरेको छ ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेएका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीवार मनोनय दर्ता सहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।
नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी बिरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनय दर्ता गर्न पाउने आयोगले स्पष्ट पारेको छ ।
बिहीवार विहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेद्वार मनोनय दर्ता गर्ने, कात्तिक २५ गते ४ बजे मनोनयन दर्ता भएका उम्मेद्वारलाई निर्वाचन चिह्न दिएपछि प्रक्रिया सकिएर मंसिर ४ गते नै निर्वाचन हुने आयोगले स्पष्ट पारेको छ ।