काठमाडौं । निर्वाचन नजिकिएसँगै नेताहरूमाथि सुरक्षा चुनौती थपिएको छ । विभिन्न स्थानमा पार्टीका नेता तथा उम्मेदवारहरुमाथि हातपातको प्रयास भएको छ ।
मंगलबार एकै दिन दुई अलगअलग कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहारको प्रयास भएको छ भने नेकपा (एकीकृत समाजवादी) का नेता एवम् पूर्वमन्त्री विरोध खतिवडामाथि कुटपिट भएको छ ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रममा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको हो ।
माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालीकोटका विभिन्न स्थानमा भएको वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर मंगलबारसुर्खेत आएका थिए।
सुर्खेतको चिङ्गाडमा आयोजित भेलालाई सम्बोन्धन गर्ने क्रममा एक युवाले प्रचण्डलाई लगाउन झोलाबाट जुत्ताको माला निकालेका थिए । तत्कालै प्रहरीले ति युवालाई नियन्त्रणमा लिएका कारण उनले जुत्ताको माला लगाउन वा प्रहार गर्न नपाएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले ति युवाको पहिचान खुलाएको छैन । उनलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा पठाइएको छ ।
यता, मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि कुटपिट भएको छ । चुनाव प्रचारकै क्रममा खतिवडालाई एकजना व्यक्तिले कुटपिट गरेका हुन्।
एकीकृत समाजवादीका नेतासमेत रहेका खतिवडालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयबासी पुरुषोत्तम खड्काले झापड हानेको प्रहरीले जनाएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडा गाडीबाट ओर्लिनेबित्तिकै करिब ५० वर्षीय खड्काले दुई झापड हानेका थिए । कुटपिटमा संलग्न खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।