डोटी । राष्ट्रिय जनमोर्चा, डोटीले जिल्लामा निर्वाचनको प्रचार अभियान सुरु गरेको छ । समानुपातिक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट माग्न राजमोले अभियान सुरु गरेको हो ।
जिल्ला अध्यक्ष डबल बोगटीेको नेतृत्वमा रहेको टोलीले बुडर बजारबाट कार्यक्रम सुरु गरेको राजमोले जनाएको छ ।
अभियान अन्तर्गत कार्तिक १८ गते डोटीको बुडरमा आयोजित कोणसभालाई जिल्ला अध्यक्ष डबल बोगटी र प्रतिनिधि सभाका समानुपातिक उमेदवार उज्जर सिंह मगरले सम्बोधन गर्नुभएको थियो ।

यस्तै, १८ गते नै जोरायलको चनकटेमा राजमोले आमसभा सम्पन्न गरेको छ । जिल्ला उपाध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष बोगटीसहित सचिव मानबहादुर खड्का, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार उज्जर सिंह मगर, जनजाति नेता कृष्ण पुनराजमो जिल्ला सदस्य चन्द्रकान्त जोशी र रक्तिम सास्कृतिक अभियानका चन्द्र नेपालीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा गठबन्धन दलका नेताहरु नेकपा माओवादी केन्द्रका छवि ओली, एकीकृत समाजवादीका बहादुर रावल र नेपाली कांग्रेसका पुण्यराज ओझाले ऐक्यवद्धता प्रकट गर्नुभएको थियो ।

डोटीमा राजमोको प्रत्यक्षतर्फका उम्मेदवार छैनन् । प्रत्यक्षमा गठबन्धन दलका उम्मेदवार र समानुपातिकमा पार्टीलाई गिलास चिह्नमा मत माग्नका लागि अभियान सञ्चालन गरिएको अध्यक्ष बोगटीले बताउनुभयो । अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा जन भेटघाट, सभा, कोणसभा, घरदैलो लगायतका कार्यक्रम सञ्चालन हुने छन् ।
बिपिनगरमा सभा
यसैबीच राजमो डोटीले आज (आइतबार) बिपिनगरको खुलामञ्चमा चुनावी सभाको आयोजना गरेको छ । सभालाई राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सम्बोधन गर्ने कार्यक्रम छ ।
