काठामाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रतिगमनको प्रतिनिधित्व एमाले एक्लैले नगरी त्यसको ग्रयाण्ड डिजाइनर भारतीय साम्राज्यवाद रहेको बताउनुभएको छ ।
वाम लोकतान्त्रिक गठबन्धन प्युठान–काठमाडौं सम्पर्क समितिले शनिबार (कार्तिक १९ गते) काठमाडौंको आर आर क्याम्पसमा आयोजना गरेको कार्यक्रममा महासचिव भट्टले सो धारणा राख्नु भएको हो ।

राजा महेन्द्र, राजा ज्ञानेन्द्र, गिरीजा र मनमोहन सरकारले गरेको संसद विघटन भन्दा ओलीले गरेको संसद विघटन एकदमै फरक प्रकृतिको भएको भट्टले बताउनु भयो ।
‘सामन्त गोयल तथा भारतीय साम्राज्यवादको ग्रयाण्ड डिजाइनमा ओली सरकारले संसद विघटन गरेकाले पनि ओलीको प्रतिगमन एकदमै खतरनाक भएको’ उहाँको तर्क थियो ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले तत्कालिन ओली सरकारले चुच्चे नक्सा पारित गर्ने सन्दर्भमा राष्ट्रपतिसमक्ष नीति वक्तव्य लैजाँदा शुरुमा चुच्चे नक्शा राख्ने कुराप्रति असमहति प्रकट गरेको स्मरण गर्नुभयो । तर सबैको विरोधपछि नै उनले चुच्चे नक्शाप्रति सहमति राखेको बताउँदै ‘अहिले दार्चुलामागएर राष्ट्रवादको कुरा गर्नु पाखण्डीपन भएको’ आरोप लगाउनुभयो ।

प्यूठान–काठमाडौं गठबन्धन संयन्त्रका संयोजक अधिवक्ता पदम रोकाको अध्यक्षता, रेशम सापकोटाको संचालनमा भएको सो कार्यक्रममा स्वागत मन्तन्व नवीन कक्षपतिले राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन आयोगका सचिव जगन्नाथ श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का सागर बुढामगर तथा लुना रिजाल, नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष रवीन्द्र केसी, प्रलेसका उपाध्यक्ष समीर सिंहले समेत मन्तव्य राख्नुभएको थियो ।
भेलाले मंसीर ४ गते हुने निर्वाचनमा प्युठान जिल्लाका गठबन्धका उमेदवारहरुलाई विजय गराउन अधिवक्ता पदम रोकाको अध्यक्षतामा ५०५ सदस्यीय निर्वाचन परिचालन समितिको समेत चयन गरेको छ ।