बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई पटकसम्म असंवैधानिक तरिकाले संसद विघटन गर्नेसँग भोट माग्ने नैतिकता नभएको बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी ओलीतिर लक्षित गर्दै बागलुङ प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार केसीले नेपाली जनता सचेत छन् भन्दै जनताले लोकतन्त्र विरोधीलाई मत नदिने विश्वास व्यक्त गर्नुभयो ।
‘जनताको आवाज सम्बोधन गर्ने संसद नै २÷२ पटक विघटन गर्नेहरु फेरि कुन नैतिकता र के का लागि भोट मागिरहेका छन् ?’ काठेखोलामा आयोजित चुनावी कार्यक्रममा केसीले भन्नुभयो, ‘नेपाली जनता सचेत छन् । नेपाली जनताले निरङकुशतालाई कहिलै पनि स्वीकार गरेनन् । यो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराएर जनता लोकतन्त्र र संविधान रक्षाको पक्षमा उभिने छन् ।’
शनिबार बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखोला गाउँपालिका वडा नं ७ रेशको देउराली, नुनथला, पिडल्नामा जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली कांग्रेस बागलुङका पूर्वसभापति दिपेन्द्र बहादुर थापाले पनि मन्तव्य राख्नुभएको थियो ।
यस्तै, कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, नेसपा का केन्द्रीय सदस्य चित्र सापकोटा, नेपाली कांग्रेसका प्रदेश समानुपातिक उम्मेदवार चम्पादेबि खडका, राष्ट्रिय जनमोर्चा प्रदेश समानुपातिक उम्मेदवार पियारी थापाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम पाँचदलीय गठबन्धन निर्वाचन परिचालन समिति काठेखोला–७ का गजेन्द्र कुँवरको अध्यक्षता, मन बहादुर थापाको सञ्चालन र प्रेम कार्कीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पाँचदलीय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरीय नेता तथा कार्यकर्ताहरुको आतित्थ्यता रहेको थियो ।