काठमाडौं । नेपाली सेनाको रथी पदमा बढुवा भएका एक जना र उपरथीमा बढुवा भएका दुई गरी तीन जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
शुक्रबार जंगी अड्डामा आयोजित समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गनुभएको हो ।
प्रधान सेनापति शर्माले रथी दर्जामा पदोन्नती भएका सिताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।
खड्का नेपाल सरकार, मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती हुनुभएको हो ।
पदोन्नती भएका रथी श्री सिताराम खड्का बलाध्यक्षमा नियुक्ति हुनुभएको छ ।
मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम उपरथी दर्जामा पदोन्नती भएका सहायकरथी विजय थापा र सहायक रथी आश बहादुर तामाङ (पीएचडी) लाई प्रधान सेनापति शर्माले आजै उपरथी दर्जाको दर्ज्यानी चिह्न समेत प्रदान गर्नुभएको छ ।
पदोन्नती भएका उपरथी थापा सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतनापति र उपरथी तामाङ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति हुनुभएको छ ।