काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा ‘समानुपातिक निर्वाचन अभियान’ सुरु गर्दैछ । आज (बुधबार) बुटवलमा पत्रकार सम्मेलन गरी अभियानको सुरुवात गरिने राजमोले जनाएको छ ।
बुधबार दिउँसो १ बजे बुटवलस्थित राजमो कार्यालयमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिइने महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले भोलि (कात्तिक १७) गतेदेखि चुनाव प्रचार प्रसार गर्न पाइने जनाएको छ । राजमोले आज पत्रकार सम्मेलन गरी कार्यक्रमको खाका सार्वजनिक गर्ने र भोलिदेखि नै चुनावी अभियान थाल्ने भएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजमोले प्रदेश १ र २ बाहेक सबै प्रदेश र केन्द्रमा समानुपातिक उम्मेदवारी दिएको छ ।
प्रतिनिधि सभातर्फ गठबन्धनबाट बागलुङ १ र प्युठान तथा प्रदेश सभातर्फ लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँचीको क मा मात्रै उम्मेदवारी दिएको राजमोले समानुपातिकतर्फ देशब्यापी मत संकलन गर्ने योजना बनाएको जनाएको छ ।