तिलकप्रसाद सुवेदी, परासी ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बागी उम्मेदवारी भोलि कात्तिक १४ गतेभित्रै निष्क्रिय गर्ने निर्णय भएको छ । चार दलले २०७९ कात्तिक १३ गते संयुक्त प्रेसविज्ञप्ति जारी र्दै सो जानकारी दिएका हुन् ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, नेपाली काङ्ग्रेसका जिल्ला सभापति अर्जुनकुमार पोखरेल, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज घनश्याम यादव र नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष यज्ञप्रसाद खनालद्वारा हस्ताक्षरित संयुक्त प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।
बागी उम्मेदवारहरूले कात्तिक १४ गते सोमबार साँझ ५ बजेअगावै उम्मेदवारी निष्क्रिय गर्न लगाइने विज्ञप्तिमा उल्लेख छ । त्यसो नगरेमा सम्बन्धित पार्टीको विधानानुसार कारबाही गरिने बताइएको छ ।
प्रेसविज्ञप्तिमा बागी उम्मेदवारी निष्क्रियसँगै साझा उम्मेदवार किटान गरिएको उल्लेख छ । जसानुसार प्रतिनिधि सभाको क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका विनोद चौधरी, २ नं. क्षेत्रतर्फ नेपाली काङ्ग्रेसका देवेन्द्रराज कँडेल साझा उम्मेदवार बन्नुभएको छ भने प्रदेशसभातर्फ १ को (क) मा नेपाली काङ्ग्रेसका विश्वप्रेम पाठक, (ख) मा नेकपा (माओवादी केन्द्र) का रामानन्द यादव तथा प्रदेशसभा २ को (क) मा नेकपा (माओवादी केन्द्र) का चिनक कुर्मी र (ख) तर्फ नेपाली काङ्ग्रेसका बैजनाथ कलबार साझा उम्मेदवार बन्नुभएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा प्रनिनिधि सभा क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) का सीता बौडेल, प्रदेश सभा १ को (क) मा नेपाली काङ्ग्रेसका कृष्णप्रसाद ढुङ्गाना, नेकपा (एकीकृत समाजवादी) का टङ्क खनाल, नेकपा (माओवादी केन्द्र) का चन्द्रकान्त खनाल, प्रदेशसभा १ को (ख) तर्फ नेपाली काङ्ग्रेसका देवकरणप्रसाद कलबार, प्रदेशसभा २ को (क) तर्फ नेकपा (एकीकृत समाजवादी) का प्रकाश भट्टराई र नेकपा (माओवादी केन्द्र) का खडक बस्नेत बागी उम्मेदवार हुनुहुन्छ ।
