काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले चारदल मिल्दैमा सहज जित हुन्छ भन्ने नसोच्न आग्रह गर्नुभएको छ ।
शनिबार गठबन्धन दलहरुको अर्घाखाँची–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको चियापान कार्यक्रममा आफ्ना धारणा राख्दै महासचिव भट्टले एमालेलाई विभिन्न देशी विदेशी शक्तिको आड रहेकोले कमजोर नआँक्न सुझाव दिनुभयो ।
‘एमाले निर्वाचनमा एक्लै छैन । विभिन्न देशी विदेशी शक्तिसहित चुनावमा आएको छ’ भट्टले भन्नुभयो, ‘त्यसकारण एमालेलाई कमजोर आँकलन गरेर चारदल मिलिहालेका छौँ, सहज जित हुन्छ भन्ने भूल नगरौँ ।’
उहाँले गठबन्धन दलहरुले नजिते प्रतिगामी शक्ति हावी हुने र फेरि लोकतन्त्रको लागि अर्को लामो समय देशी विदेशी प्रतिगामी शक्तिहरुसँग जुध्नुपर्ने अवस्था आउने दोहोर्याउनुभयो ।
फरक प्रशंगमा महासचिव भट्टले देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीको एउटा मात्रै क्षेत्रमा उम्मेदवारी दिएर बाँकी ३२९ स्थानमा कांग्रेस, माओवादी, समाजवादीलाई सहयोग गरेको स्मरण गर्दै अर्घाखाँची १ बाट सागर केसीलाई जिताउन अपील पनि गर्नुभयो ।
कार्यक्रममा अर्घाखाँची प्रतिनिधि सभा उम्मेदवार पुष्पा भुसाल, प्रदेश सभा १ का उम्मेदवार एवम् राजमो नेता सागर केसी र २ का कमल भुसाल, राजमो समानुपातिक उम्मेदवार मधु क्षेत्री, तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत, माओवादी केन्द्रका डिलाराम आचार्य र नेकपा (एकीकृत समाजवादी) का वेदुराम भुसालले पनि मन्तव्य राख्नुभएको थियो ।
अर्घाखाँचीमा पाँचदलीय गठबन्धन कायम, राजमोका सागर केसी साझा उम्मेदवार