काठमाडौं । ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्। एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्।
उक्त विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको र बकिङ्गम प्यालेस त्यसबाट निराश भएको बुझिएको छ।
राजपरिवारका वरिष्ठ सदस्यहरू ह्यारी दम्पतीको घोषणाबाट आहत भएको बुझिएको छ। गत अक्टोबर महिनामा राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले सङ्घर्ष गर्नुपरेको बताएका थिए।
बुधवार अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा आफूहरूले धेरै महिना सोचविचार र छलफल गरेर उक्त निर्णय गरेको उल्लेख गरेका छन्। उनीहरूले उक्त विज्ञप्ति सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन्।
ह्यारी र मेगनको विवाह मे २०१८ मा भएको थियो। महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन्।
यसले एकातिर ह्यारी तथा मेगनबीच र अर्कातिर बाँकी राजपरिवारबीच ठूलो मतभेद भएको स्पष्ट रूपमा देखाउँछ। ह्यारी र मेगन छोरा लिएर बिदा मनाउन क्यानडा गएका थिए । बकिङ्गम प्यालेसकी एक प्रवक्ताका अनुसार ह्यारी र मेगनको निर्णयबारे राजपरिवारमा प्रारम्भिक चरणमा छलफल भएको छ।
उनले भनिन्, ‘उनीहरूको भिन्न शैलीमा जाने इच्छा भएको हामी बुझ्छौँ। तर यी जटिल विषय हुन् र तिनलाई समाधान गर्न समय लाग्छ।’ बीबीसी