काठमाडौं । निर्वाचन आयोगले विभिन्न राजनीतिक दलले बुझाएको समानुपातिक उम्मेदवारको सूचीबाट ५४८ जना उम्मेदवारको नाम हटाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंगलबार सामाजिक सञ्जालमार्फत सो जानकारी दिनुभएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले पेश गरेको समानुपातिक बन्दसूचीबाट आयोगले छानबिन गरी उनीहरुको नाम हटाएको हो । आयोगले यही कात्तिक नौ गते समानुपातिक उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने जानकारी दिएको छ ।
थपलियाले लेख्नुभएको छ, ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको छ ।’
लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन आयोगको निर्देशन
निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र नेतहरूबारे लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन निर्देशन दिएको छ ।
मंगलबार सूचना प्रकाशित गरी आयोगले ‘नो नट अगेन’ नामका तीनवटा फेसबुक पेजले राजनीतिक दल, नेता तथा उम्मेदवारहरुमाथि लाञ्छनापुर्ण अभिव्यक्ति तथा भ्रामक श्रव्य दृश्य सामग्री प्रकाशन गरेका भन्दै तत्काल हटाउन निर्देशन दिएको हो ।
झुठ फेसबुक पेज÷ग्रुपहरु सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको आयोगको भनाई छ ।
‘उल्लेखित कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेजरग्रुपहरु तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराईन्छ’ आयोगले भनेको छ, ‘साथै, उक्त फेसबुक पेजरग्रुपहरु तत्काल नहटाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।’