काठमाडौँ । आगामी मङ्सिर ४ गतेको चुनावमा प्रतिनिधि सभाका उम्मेदवारले तीनओटा र प्रदेशसभाका उम्मेदवारले एउटा मात्र चुनावी सम्पर्क कार्यालय खोल्न पाइने भएको छ ।
निर्वाचन आयोगको २०७९ कात्तिक ८ गतेको प्रेसविज्ञप्तिमा यस्तो निर्देशन दिइएको हो ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईको हस्ताक्षरमा जारी प्रेसविज्ञप्ति राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५.७, उपदफा (२), निर्वाचन आचार संहिता–२०७९ को दफा १३ को उपदफा (१) का (म) माथि टेकेर उक्त निर्देशन दिइएको उल्लेख छ ।
प्रेसविज्ञप्तिमा प्रतिनिधि सभाको उम्मेदवारले सम्बन्धित निर्वाचन क्षेत्रलाई समेट्ने गरी तीनओटा सम्म कार्यालय खोल्ने तथा दलको हकमा सकेसम्म एउटै कार्यालय प्रयोग गर्न अनुरोध गरिएको छ ।
त्यस्तै, उम्मेदवारले अर्को उम्मेदवारलाई समर्थन गरेको हकमा छुट्टै कार्यालय खोल्न नपाइने, सम्पर्क कार्यालयको घरभाडा निर्वाचन खर्चमा सामेल गर्नुपर्ने र सम्पर्क कार्यालय खोलेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिनुपर्ने प्रेसविज्ञप्तिमा उल्लेख छ ।
