काठमाडौं । राष्ट्रिय जनमोर्चाले समानुपातिक निर्वाचनमा पार्टीलाई मतदान गर्न आम मतदातासँग अपील गरेको छ ।
राजमोले आइतबार (कात्तिक ६ गते) प्रकाशित गरेको अपीलमा संसदीय विकृत राजनीतिबाट आफ्नो पार्टी अलग रहेको भन्दै पार्टीका एजेण्डाका लागि मत दिन आह्वान गरिएको छ ।
राष्ट्रिय राजनीतिमा खेलेको भूमिका, राष्ट्रियताका पक्षमा सङ्घर्षशील यात्रा, संघीयताको खारेजीका लागि तथा नेपालमा राजनीतिक आन्दोलनमा देखिएका सम्पूर्ण खाले विकृति, विसङ्गति, भ्रष्टाचार, दलबदलु प्रवृत्तिबाट राष्ट्रिय जनमोर्चा पृथक रहेको अपीलमा उल्लेख छ ।
‘हाम्रो दलको आचरण अन्य दलभन्दा मौलिक रूपले नै फरक छ । त्यसैले सम्पूर्ण मतदाताज्यूहरूले समानुपातिक निर्वाचनमा राष्ट्रिय जनमोर्चाको पक्षमा अत्यधिक मत दिएर समानुपातिक तर्फबाट बढीभन्दा बढी उम्मेदवारलाई संसद् पठाउन हार्दिक अनुरोध गर्दछौँ’ अपीलमा भनिएको छ, ‘ राष्ट्रिय जनमोर्चा संसद्मा विजयी भएर गएमा गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षाका पक्षमा भूमिका खेल्नुका साथै जनताको विकास र समृद्धिका लागि आफ्नो सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछ ।
अपीलमा भनिएको छ :
गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौँ !, सङ्घीयता खारेज गरौँ !
राष्ट्रिय जनमोर्चाको पक्षमा मतदान गरौँ !
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
नयाँ संविधान जारी भएपछि हामी नेपालीहरूले प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणाली गरी मिश्रित निर्वाचन प्रणालीको अभ्यास गरिरहेका छौँ । प्रतिनिधि सभा तथ प्रदेशसभाको प्रत्यक्ष सिटहरूमा राष्ट्रिय जनमोर्चा ३ दलसँग मिलेर संयुक्त रूपमा निर्वाचनमा सहभागी भएको छ । हाम्रो पार्टीसहित चारदलीय गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउन हामी सबै मतदातासँग अपिल गर्दछौँ ।
राष्ट्रिय जनमोर्चा समानुपातिकतर्फ प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा पनि सहभागी भएको छ । प्रतिनिधि सभा तथा प्रदेशसभाका समानुपातिकतर्फको चुनावमा राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलासमा मतदान गरी समानुपातिक बन्दसूचीमा परेका बढीभन्दा बढी उम्मेदवारलाई विजय बनाउन मत प्रदान गर्न सम्पूर्ण मतदातासँग अपिल गर्दछौँ । प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिगमन
विरोधी शक्तिका पक्षधर उम्मेदवार विजयी हुन सके मात्र प्रतिगमनलाई परास्त गर्न बल पुग्ने छ ।
राष्ट्रिय जनमोर्चाको गौरवपूर्ण इतिहास रहिआएको छ । राष्ट्रिय जनमोर्चाले सदैव जनताको जनाधिकारका लागि नेपालमा सञ्चालित निरङ्कुशता विरोधी प्रत्येक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । त्यस दौरान राष्ट्रिय जनमोर्चाका कैयौँ नेता कार्यकर्ताले सहादत प्राप्त गरेका छन् । कैयौँले लामो काराबास, विदेश निर्वासनको कडा सजाय पनि भोगेको इतिहास छ । संविधान सभाको मागको पक्षमा अनवरत ६ दशकसम्म सङ्घर्ष गरेको थियो । विभिन्न कालखण्डमा देखिएका प्रतिगमनका विरुद्ध समेत राष्ट्रिय जनमोर्चा एकल तथा संयुक्त रूपमा सङ्घर्ष गर्दै आएको छ । गत साल एमाले नेतृत्वमा देखिएको प्रतिगमनका विरुद्ध प्रतिगमन विरोधी शक्तिका बिच तालमेल, एकता वा गठबन्धनको निर्माणको आवश्यकतामाथि सबैभन्दा पहिला राष्ट्रिय जनमोर्चाले नै जोड दिएको थियो । त्यो नीतिलाई दृढतापूर्वक अगाडि बढाएका कारण नै प्रतिगमनले बारम्बार धक्का खानुपरेको छ ।
देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि कठिनभन्दा कठिन परिस्थितिमा राष्ट्रिय जनमोर्चाले एक्लैले भए पनि संसद्भित्र वा बाहिर सङ्घर्ष गर्दै आएको गौरवपूर्ण इतिहास र वर्तमान रहिआएको छ । कालापानीबाट भारतीय सेनाको फिर्ताका लागि ६ दशकदेखि सङ्घर्ष गर्दै आएको छ । सन् १९५० को असमान सन्धि, भारतद्वारा गरिएको सीमा अतिक्रमण, नागरिकता विधेयक राष्ट्रघाति एमसिसी सम्झौताका विरुद्ध गरिएका सङ्घर्षको सङ्क्षिप्त विवरणबाट पनि राष्ट्रिय जनमोर्चाले राष्ट्रियताको पक्षमा गरेको सङ्घर्षको गौरवपूर्ण इतिहासलाई देखाउँछ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियताको प्रश्नलाई सत्ताको मोलमोलाइ वा सौदाबाजीको विषय कहिल्यै पनि बनाएको छैन । सङ्घीयताको पक्षमा विदेशी शक्तिहरूले राजनीतिक दबाब दिएर तथा अर्बौं रुपैयाँ खर्च गरेर वातावरण तयार पारेका थिए । एक प्रकारले भन्ने हो भने तत्कालीन अवस्थामा नेपाल सङ्घीयतामय भएको थियो । त्यस्तो अवस्थामा पनि दृढतापूर्वक सङ्घीयता नेपालका लागि कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको आवाज उठाउने र सङ्घीयताका विरुद्ध सङ्घर्ष गर्ने पार्टी राष्ट्रिय जनमोर्चा भएको कुरा सबैलाई थाहा छ । सङ्घीयताको विरोध गर्ने क्रममा हामीमाथि थुप्रै ठाउँमा आक्रमण भएका थिए । स्वयम् अध्यक्ष चित्रबहादुर केसीलाई ज्यान मार्ने धम्की आएको थियो । सङ्घीयता विरुद्धका शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्न राजधानीकै प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा तथा राष्ट्रिय जनमोर्चाको बानेश्वरस्थित केन्द्रीय कार्यालयमा बम राखेर आतङ्कित पार्ने कार्य गरिएको थियो तर हामी आफ्नो विचारमा अडिग रह्यौँ । आज स्वयम् व्यवहारबाट नै सिद्ध भइसकेको छ कि सङ्घीयता निकै खर्चिलो, झञ्झटिलो शासन प्रणाली हुनुका साथै यो गणतन्त्र तथा राष्ट्रियता दुईटैका लागि घातक छ । सङ्घीयता विरुद्धको हाम्रो अडानका कारण नै आज देशव्यापी रूपमा सङ्घीयताका विरुद्ध जनमत सिर्जना भएको छ ।
राष्ट्रिय जनमोर्चाले लगातार जनताका हरेक तह र तप्काहरू किसान, मजदुर, महिला, दलित, जनजाति, विद्यार्थी, शिक्षक, प्राध्यापक, डाक्टर, मधेसी, मुस्लिम, फरक क्षमता भएका, प्रवासी नेपालीका वर्गीय र पेसागत वा सामुदायिक हकहित र अधिकारका लागि सङ्घर्ष गर्दै आएको छ ।
राष्ट्रिय जनमोर्चाले राजनीतिक तथा पेसागत हकहितका लागि सङ्घर्ष गर्नुका साथै विजयी भएका स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्रमा विकास निर्माणमा पर्याप्त ध्यान दिने गरेको छ । राष्ट्रिय जनमोर्चा विजयी भएका स्थानमा विकास तथा सुशासनको क्षेत्रमा राष्ट्रिय रूपमा नै उदाहरणीय काम भएका छन् । त्यस अतिरिक्त पनि कैयौँ जिल्लामा स्थानीय पार्टीको पहलकदमीमा पनि विकाससम्बन्धी कार्यमा ध्यान दिने गरिएको छ । विकासमा ध्यान दिनुका साथै विकासका लागि प्राप्त बजेटमा अनियमितता हुन नदिन पनि पूरा ध्यान दिएको छ ।
नेपालमा राजनीतिक कारणले हरेक क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको छ । राजनीति सेवा नभएर तत्कालै पैसा कमाउने व्यापार बनेको छ । त्यसको असर हामीबाहेक सबै राजनीतिक दलमा परेको छ तर यो खुसी र गौरवको कुरा हो कि हाम्रो पार्टीका अहिलेसम्म निर्वाचित सबै सांसद वा स्थानीय तहका पदाधिकारी वा सदस्य सबै प्रकारका आर्थिक अनियमितता वा भ्रष्टाचारबाट मुक्त रहँदै निष्कलङ्क, भ्रष्टाचाररहित तथा पारदर्शी चरित्र प्रदर्शन गर्दै आएका छन् । राष्ट्रिय जनमोर्चाको स्वच्छ तथा उज्ज्वल छवि सरकारमा सहभागी भएका बेला पनि कायम रहेको थियो । पार्टी सरकारमा भएका बेला पनि हाम्रो मन्त्री आर्थिकगमन, पक्षपात वा अनियमितताको विवादबाट मुक्त रहेका थिए । राजनीतिक स्वार्थका लागि वा व्यक्तिगत फाइदाका लागि सिद्धान्त र राजनीतिको सौदाबाजी गर्ने वा कुनै पद, सरकारी सुविधा लिनका लागि जनता वा राष्ट्रका सर्वोपरि हितका विरुद्ध जाने भ्रष्ट राजनीतिबाट राष्ट्रिय जनमोर्चा टाढा रहेको छ ।
राष्ट्रिय राजनीतिमा खेलेको उपर्युक्त भूमिका, राष्ट्रियताका पक्षमा हाम्रो सङ्घर्षशील यात्रा, सङ्घीयताको खारेजीका लागि तथा नेपालमा राजनीतिक आन्दोलनमा देखिएका सम्पूर्ण खाले विकृति, विसङ्गति, भ्रष्टाचार, दलबदलु प्रवृत्तिबाट राष्ट्रिय जनमोर्चा पृथक् रहेको छ । हाम्रो दलको आचरण अन्य दलभन्दा मौलिक रूपले नै फरक छ । त्यसैले सम्पूर्ण मतदाताज्यूहरूले समानुपातिक निर्वाचनमा राष्ट्रिय जनमोर्चाको पक्षमा अत्यधिक मत दिएर समानुपातिक तर्फबाट बढीभन्दा बढी उम्मेदवारलाई संसद् पठाउन हार्दिक अनुरोध गर्दछौँ । राष्ट्रिय जनमोर्चा संसद्मा विजयी भएर गएमा गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षाका पक्षमा भूमिका खेल्नुका साथै जनताको विकास र समृद्धिका लागि आफ्नो सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछ ।
मिति : २०७९ कात्तिक ६
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय