तौलिहवा । कपिलवस्तु क्षेत्र नं. ३ ख विजयनगरमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ ।
विजयनगर गाउँपालिकाको ज्योतिनगरमा २०७९ कात्तिक ५ गते जातीय समता समाजका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष दिलबहादुर विकले कार्यालयको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा सम्बोधन गर्दै विकले पाँचदलीय गठबन्धनमा सामेल भए पनि समानुपातिक उम्मेदवारलाई जिताउन घर घरमा जानुपर्ने बताउनुभयो ।
त्यस्तै समानुपातिक उम्मेदवार केरसिंह अदैले भोट माग्न जनताको माझमा घरदैलो गर्नुपर्ने बताउनु भयो । उहाँले भोट कति आउँछन् त्यो कार्यकर्तामा निर्भर हुने भन्दै कुनै लोपलालचमा नपरि प्रचारमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा समानुपातिक उम्मेदवार पुनम नेपाली, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार शुशीलादेवी चौधरी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा अखिल नेपाल यातायात मजदुर सङ्गठनका जिल्ला अध्यक्ष नागराज योगी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढाले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो विजयनगरका अध्यक्ष गोविन्द परिवारले, सञ्चालन रामभरोसे यादवले र स्वागत भोपाल चौधरीले गर्नुभएको थियो ।
भेलाले गोविन्द परिवारको संयोजकमा र भोपाल चौधरी सहसंयोजकत्वमा १०१ जनाको प्रचार प्रसार समिति गठन गरेको छ ।
