फुङलिङ । ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा राखिएको ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् ।
जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा २०७९ कात्तिक ४ गते शुक्रबार प्रहरीले फेला पारेको हो ।
गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनिट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताउनुभयो ।
फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरहगना र नगद रु छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो । कञ्चन मनिट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र रु नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् । (रासस)