पोखरा । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।
पोखरामा पाँचदलीय गठबन्धनद्वारा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालीले सो कुरा बताउनुभएको हो ।
विभिन्न विमतिका बाबजुद गठबन्धन अहिलेको आवश्यकता भएको बताउँदै नेपालीले संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारले जित्नु आवश्यक भएकामा जोड दिनुभयो ।

प्रतिगामी शक्तिले जित्दा अराजकतासँगै र विदेशी शक्तिको प्रभाव बढ्ने हुँदा गठबन्धनका उम्मेदवारले जित्नु अपरिहार्य भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पार्नुभयो ।