अबुजा । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनदेखी भएको सुरक्षाका कारबाहीमा परेर ३१ जनाको ज्यान गएको छ । यहाँका सुरक्षा अधिकारीहरूले सो कुराको जानकारी दिएका छन् ।
ती अधिकारीहरूका अनुसार गएका केही दिनदेखी भएको कारबाहीका क्रममा कम्तीमा ३१ जना बोको हरामका लडाका मारिएका हुन् ।
नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरूले बोको हरामका लडाकाहरूमाथि सो कारबाही गरेका हुन् ।
सो, कारबाहीका क्रममा अरु ७० जना लडाका पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
यहाँको सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार यहाँको उत्तर पूर्र्वी क्षेत्रहरूमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा यहाँका सम्पूर्ण सुरक्षा निकायले कारबाही प्रक्रियालाई अघि सारेको बताइएको हो ।
यसक्रममा बोको हरामका केही लडाका घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएको छ । नाइजेरियामा केही वर्षदेखि बोको हराम नाकको एक आतङ्ककारी समूहले आतङ्क मच्चाइरहेको छ ।