प्युठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्युठानी जनताप्रति पुरा भरोसा रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाका गठबन्धनको तर्फबाट उम्मेदवार पौडेलले बिहीबार सरुमारानी–विरिङकोटका स्थानीयसँगको भेटघाटको क्रममा प्युठानी जनताले दिएको साथ र भरोसालाई आफूले टुट्न नदिने बताउनुभयो । उहाँले प्युठानका जनतालाई आफैँ उठेको छु भनेर मत माग्नसमेत आग्रह गर्नुभयो ।

उहाँले भन्नु भयो– ‘तपाईहरु माथि मेरो पूरा भरोसा छ, विश्वास छ, हामी एक अर्काको विश्वास र भरोसामा नै अगाडि बढेका छौं ।’
उहाँले प्युठानबासीको विकासको आवश्यकतालाई आफ्नो क्षेत्रबाट पुरा गर्न पहल गर्ने प्रतिवद्वता जाहेर गर्नुभयो ।

त्यस्तै, प्यूठान नगरपालिका खप्रेङखोलामा आयोजित भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका नेता मुक्तिप्रसाद शर्माले गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) प्यूठानका सचिव धर्मराज भण्डारीले पनि सम्बोधन गर्नुभएको थियो ।

गठबन्धनका साझा उम्मेदवारहरु संयुक्तरुपमा जिल्लाको सरुमारानी– विरिङकोट, सरुमारानी वडा नम्बर ५ राङवाङ, प्युठान नगरपालिकाको खप्रेङखोलामा घरदैलो, सभा लगायतका चुनावी कार्यक्रम सम्पन्न गरेका छन् ।