बागलुङ । प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् ।
गठबन्धनका उम्मेदवारले बागलुङ नगरपालिका–१ रामरेखाबाट घरदैलो अभियान थालेका छन् ।
पाँच दलीय गठबन्धनतर्फ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।
पाँच दलीय गठबन्धन निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले निकालेको समय तालिका अनुसार आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट सुरु भएको घरदैलो, मतदाता भेटघाट नं २ र ३ सम्म पुगेको छ ।
असोज २८ गते गठबन्धनको बागलुङ बजारमा निर्वाचन परिचालन कार्यालय उद्घाटन, २९ गते बागलुङ नगरपालिका–१४ नारायणस्थानमा भेटघाट तथा कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा (ख) अन्तर्गतको अनुशिक्षण गरेको पाँच दलीय गठबन्धले आइतबार रामरेखाबाट घरदैलो कार्यक्रम सुरु गरेको छ ।
घरदैलो तथा भेटघाटमा नेता केसीले समग्र बागलुङको विकासका एजेण्डा राष्ट्रिय तहमा स्थापित गर्दै संविधानको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । यस्तै कांग्रेसका नेता बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार थापाले विकास र सुशासनका पक्षमा आफुले मत मागेको बताउनुभयो ।
बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ३१ जना चुनावी मैदानमा हुनुहुन्छ ।
दल तथा स्वतन्त्र उम्मेदवारले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनको मुद्दा लिएर गाउँ पसेका छन् ।