काठमाडौं । इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन् । एकजना अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् उनले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन् ।
ती अमेरिकी सैन्य जेनेरलले लेखेको पत्रमा अमेरिकाले ‘आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने’ उल्लेख गरिएको थियो । इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो ।
अमेरिकी रक्षामन्त्रीले चाहिँ उक्त पत्र ‘अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने’ बताए। अमेरिकी सेनाका एकजना वरिष्ठ सैन्य अधिकारीले पनि उक्त पत्रको ‘भाषा नमिलेको र गल्तीले पठाइएको’ बताएका छन् ।
इराकमा इरानी सैन्य जेनेरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्योल सिर्जना भएको हो । सुलेमानीलाई इरानमा दोस्रो शक्तिशाली व्यक्ति मानिन्थ्यो । राष्ट्रपति ट्रम्पको आदेशमा गत शुक्रवार सुलेमानी मारिएका थिए । उक्त घटनापश्चात् मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ।
इरानले आफ्ना सैन्य जेनेरलको हत्याको बदला लिने बताएको छ । इराकको संसद्ले पारित गरेको संकल्प प्रस्ताव त्यहाँको सरकारका लागि बाध्यकारी भने हुँदैन ।
तर इराकी प्रधानमन्त्रीले आफू पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताइसकेका छन् । राष्ट्रपति ट्रम्पले चाहिँ इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने बताएका छन् । बीबीसी