काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को आयोजनामा हाइकु प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ ।
प्रगतिवादी साहित्यकार तथा कौशिकी द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमला प्रशिक्षक रहनुभएको उक्त कार्यक्रम २०७९ असोज ३० गते आइतबार भर्चुअल माध्यमबाट नेपाली समयानुसार साँझ ७ बजे सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षण दिँदै प्रशिक्षक धमलाले जापानमा कविहरूले सामूहिक रूपमा वाचन गर्ने पाँच, सात, पाँच, सात अक्षरको पङ्क्तिलाई “हाइकाई” भन्ने गरिएको र सोही शब्द रूपान्तरण भएर हाइकु बनेको बताउनुभयो ।
जापानमा प्रकृति र ऋतुको गुणगान हाइकुको मुख्य विषय भएको बताउँदै उहाँले पछिल्लो समयमा हाइकुमा विचारका विषय पनि समेटिने गरेको बताउनुभयो ।
नेपालमा शङ्कर लामिछानेले हाइकुलाई भित्राएको बताउँदै उहाँले “शिरिषको फूल” को समर्पण लामिछानेले लेखेको उत्कृष्ट हाइकु हुन सक्ने जिकिर गर्नुभयो ।
हाइकुमा बिम्बात्मक दर्शन र सूक्ष्म सौन्यर्यबोध अभिव्यक्त हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘हाइकुले प्रकृतिबोधन वा ऋतुबोधनलाई मानवीयकरण गर्दै साहित्यिक स्वाद पस्कन्छ ।’
नेपालका कतिपय उखानले पनि हाइकुकै शैली दिने बताउँदै उहाँले नेपालमा क्रियापदलाई प्रयोग गर्न सम्भव नभए पनि मुख्यतः अनुकरणात्मक शब्द र थोरै क्रियापदको प्रयोग गरेर हाइकु लेखिनुपर्ने बताउनुभयो ।
‘नेपालमा अहिलेसम्म १५० भन्दा बढी हाइकु सङ्ग्रह प्रकाशित भएको तर त्यसमध्ये ७० प्रतिशत हाइकुको संरचनामा नभए पनि नेपालमा हाइकुको उज्ज्वल भविष्य छ’ उहाँको निष्कर्ष थियो ।
अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा विषयवस्तु अन्पाका केन्द्रीय सदस्य धनप्रसाद पुनले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा रवि पौडेल र रामदेव पाण्डेले पूरक जिज्ञासा राख्नुभएको थियो ।

