बुटवल । रक्तिम सांस्कृतिक अभियानका वरिष्ठ कलाकार कमला केसीप्रति कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरिएको छ ।
हिजो (असोज २९ गते) निधन भएकी केसीको पार्थिव शरीरमा राष्ट्रिय सभा सदस्य एवम् जातीय समता समाजका अध्यक्ष राजेश विकले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
केसीको हिजो नै बुटवलको तिनाउस्थित मगरघाटमा अन्त्येष्टि गरिएको थियो । त्यस क्रममा आयोजित श्रद्धाञ्जली सभामा नेता राजेश विकले उहाँको जीवनीबारे संक्षिप्त प्रकाश पार्नुभयो ।
२०३४ सालमा बुटवल चाँदमारीमा जन्मेकी केसी १०/१२ वर्षको उमेरदेखि नै कला क्षेत्रमा लाग्नुभएको थियो । उहाँ २०५४ सालमा रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय सदस्य बन्नुभएको थियो ।
नृत्यतर्फ अब्बल केसी रक्तिमको कलाकारका रुपमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय उहाँले रक्तिमका कलाकारलाई नृत्यसम्बन्धी प्रशिक्षण दिने गर्नुहुन्थ्यो ।
केसी नेकपा (मसाल) को पार्टी सदस्यसमेत रहेको र उहाँ पार्टी कमिटीमा ‘क रचना’ नामले क्रियाशील रहने गरेको नेकपा (मसाल) सम्बद्ध स्रोतले जनाएको छ ।
उहाँ दुई वर्षदेखि क्यान्सरसँग जुधिरहनुभएको थियो । चितवन क्यान्सर अस्पतालमा उपचाररत केसीलाई अघिल्लो दिनमात्रै अस्पतालले घर पठाइदिएको थियो । हिजो दिउँसोसम्म सामान्य हात खुट्टा चलाउन सक्ने अवस्थामा रहेकी केसीको साँझ साढे ८ बजे बुटवल चाँदमारीस्थित आफ्नै निवासमा निधन भएको हो ।
उहाँका बुबा आमा हाल गुल्मीको हस्तिचौरमा हुुनुहुन्छ । बुवा नेत्रबहादुर महत्तरा क्षेत्री र आमा मनुरमाले दुई वर्षको अवधिमा कमलासँगै आफ्ना दुवै सन्तान गुमाउनुभएको छ । कमलाका दाजुको पनि दुई वर्षअघि क्यान्सरकै कारण निधन भएको थियो ।
कमलाका श्रीमान र दुई सन्तान छन् ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीका नेता ढुण्डीराज शर्माले सञ्चालन गर्नुभएको श्रद्धाञ्जली सभामा राजमो नेता कार्यकर्ताहरुले प्रिय कलाकार कमला केसीको पार्थिव शरीरमा फूल अविर अर्पण गरि अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
पूर्व केन्द्रीय सदस्य कमला केसीको निधनप्रति रक्तिमको श्रद्धाञ्जली