काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानले पूर्व केन्द्रीय सदस्य कमला केसीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
महासचिव जीवन शाहीको हस्ताक्षरमा २०७९ असोज २९ गते शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिएको हो ।
वक्तव्यमा अगाडि भनिएको छ :
“रक्तिम सांस्कृतिक अभियानकी पूर्व केन्द्रीय सदस्य एवम् कलाकार कमला केसीको २०७९ असोज २९ गते साँझ निधन भएको खबरले हामी दुखित भएका छौं ।
रुपन्देहीको बुटवलमा चाँदवारीमा उहाँको निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । केसी २०५० सालदेखि निरन्तर रक्तिम सांस्कृतिक अभियानमा आबद्ध हुनुहुन्थ्यो । रक्तिम सांस्कृतिक अभियानको उहाँ कुशल अभिभावक पनि हुनुहुन्थ्यो ।
विगत केही समययता फोक्सोको क्यान्सरबाट पीडित केसीको आफ्नै निवासमा करिब साढे ९ बजेतिर निधन भएको छ । उहाँको निधनले नेपाली जनवादी सांस्कृतिक आन्दोलनमा ठुलो क्षति पुगेको छ । रक्तिम सांस्कृतिक अभियानले एक होनहार प्रतिभावान कलाकार मात्र नभई कुशल अभिभावक गुमाएको छ । रक्तिम सांस्कृतिक अभियानको जीवनमा उहाँको निधनले अपुरणीय क्षति पुगेको छ ।
शोकको यस घडीमा कमला केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।”