काठमाडौं । राष्ट्रिय जनमोर्चा दाङले चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गर्नुका साथै निर्वाचनबारे बिस्तृत योजना बनाएको छ ।
दाङमा केन्द्रीयस्तरको सहमतिअनुसार राजमोले प्रतिनिधि सभामा उम्मेदवारी दिएको छैन । तर, पार्टीको दाबी अनुसार प्रदेश १ (१) मा उम्मेदवारी दिएको छ ।
राजमो दाङले जिल्लामा सहमति हुन नसकेका कारण प्रतिगामी तत्वलाई फाइदा पुगेमा त्यसको जिम्मेवार गठबन्धन दलहरु हुने चेतावनी दिएको छ ।
जिल्ला अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा प्रत्यक्षतर्फ प्रदेश सभा १ (१) मा र समानुपातिकतर्फ जिल्लाभर राजमोलाई मत दिन आग्रह गरिएको छ ।
यस्तो छ विज्ञप्ति
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको सचिवालय बैठक अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा बस्यो । बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीको विषयमा विस्तृत योजना तर्जुमा गरेको छ ।
केन्द्रीय स्तरमा भएको सहमति अनुसार हामीले जिल्लाका कुनै प्रतिनिधिसभामा उम्मेदवारी दिएका छैनौँ ।
प्रदेशस्तरमा हामीसित कुनै सहमति नभएको र हामीले केन्द्रीयस्तरमा तालमेलको सन्दर्भमा दाङ निर्वाचन क्षेत्र नम्बर १ को १ मा दाबी रहेकोले त्यहाँ हामीले उम्मेदवारी दर्ता गरेका छौँ । त्यसो हुँदाहुँदै पनि हामी यो कुरामा दृढ र स्पष्ट छौँ की यही कारणले प्रतिगामी शक्तिलाई फाइदा हुने स्थिति भयो भने त्यसको जिम्मेवार प्रदेशस्तरमा हामीसित तालमेलमा सहमत नहुने गठबन्धनका दलहरु नै हुनेछ्न् ।
हाम्रो पार्टीको प्रत्यक्ष उम्मेदवार सबै ठाउँमा नभएकोले जिल्लाभरीको समानुपातिक मत लिनको लागि जिल्लाभर प्रचारप्रसार अभियान सञ्चालन गर्न जिल्ला अध्यक्ष गणेश आचार्यको संयोजकत्वमा १५१ सदस्यीय प्रचारप्रसार समिति निर्माण भएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को १ मा जिल्ला उपाध्यक्ष महेश रिजालको उम्मेदवारी भएकोले उहाँलाई विजयी गराउनको लागि विस्तृत योजना तर्जुमा भएको छ । यसैगरी यो प्रदेश बाहेक अन्य प्रदेश र प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवारलाई र समानुपातिकमा पार्टीको चुनाव चिह्न गिलासमा मतदान गर्न सम्पूर्ण पार्टीपङ्ती र आम जनसमुदायमा अपिल गर्दछौँ ।
२०७९/०६/२६
गणेश आचार्य
अध्यक्ष