खलङ्गा । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ भने पहिरोमा पुरिएर दुई जना गम्भीर घाइते भएका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
‘२०७९ असोज २२ गते शनिबार बिहान ४ बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ । घर पुरिँदा सबै जना सुतिरहेका रहेछन् । उम्किनै पाएनन्’ उहाँले भन्नुभयो– ‘प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन् । घाइतेलाई स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको छ ।’
जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएका छन् । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताउनुभयो ।
‘हामी सबै बाटोमै छौँ । सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो’ उहाँले भन्नुभयो– ‘साँझसम्म घट्नास्थलमा पुग्ने आशा गरेका छौँ ।’
सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताउनुभयो । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उहाँको भनाइ छ । (रासस)