काठमाडौँ । पूर्व माओवादी नेता बालकृष्ण ढुङ्गेलको निधन भएको छ । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर २०७९ असोज २२ गते शनिबार बिहान ११ः३० बजेतिर उहाँको निधन भएको हो ।
पछिल्लो समयमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य रहनुभएका ढुङ्गेलको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।
बडादसैँको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उहाँ एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।
विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि एमालेमै बस्नुभएको थियो ।
ढुङ्गेल सशस्त्र द्वन्द्वको क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बस्नुभएको थियो । यसअघि उहाँ संविधान सभाका सदस्यसमेत बन्नुभएको थियो ।