नेपालगञ्ज । अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रूपमा भत्किँदा चार हजार परिवार विस्थापित भएका हुन् । उहाँका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको तर अधिकांश स्थान बाढीले क्षति पुर्याएको छ ।
जिल्लाको डुडुवा गाउँपालिका–१ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा तीन सय, राप्तीसोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँका करिब तीन हजार र नेपालगञ्ज उपमहानगरपालिका–२० मा तीन सय, खजुरा गाउँपालिकामा एक सय, नरैनापुर गाउँपालिकामा चार सय जना परिवार विस्थापित भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएकाहरू सबै सुरक्षित रूपमा आश्रयस्थलमा बसिरहेका छन् । राप्ती नदी पुल पारी बगर क्षेत्रमा फसेका तीन जनालाई प्रहरीको उद्धार टोलीले असोज २२ गते शनिबार बिहान उद्धार गरेको छ ।
असोज २१ गते शुक्रबारदेखि विस्थापित भएकाहरूले खानासमेत नपाएको अवस्थामा स्थानीय तह वडा कार्यालयले ड्राइफुट तयारी खाजाको व्यवस्थाका लागि तयारी सुरु गरिएको प्रजिअ खत्रीले बताउनुभयो ।
बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेकालाई सुरक्षित उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । रातिदेखि वर्षा राकिएकाले राप्ती नदीको पानी बिस्तारै घट्न थालेको छ ।
जिल्लाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका जनप्रतिनिधिहरू बताउँछन् । (रासस)