इस्लामावाद । पाकिस्तानमा यस वर्षको बाढीपहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको छ ।
पाकिस्तानी अधिकारीहरूका अनुसार मध्यजुलाईबाट आएको बाढीमा परेर पाकिस्तानमा ठुलो जनधनको क्षति भएको हो ।
अधिकारीहरूले यहाँ दसकौँपछि पहिलोपटक आएको विनाशकारी बाढीले निकै क्षति पुर्याएको थियो । यहाँ गएको मनसुनी वर्षाको समयमा एक हजार छ सय ९५ जनाको ज्यान गएको राष्ट्रिय बिपत् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
सो प्राधिकरणका अनुसार यहाँ बाढीबाट अरू १२ हजार आठ सय ६५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि सो प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइतबार प्रकाशन गरेको एक समाचारमा मृत्यु हुनेमा बालबालिका छ सय ३० जना रहेका छन् । त्यस्तै अरू तीन सय ४० जना महिलाको पनि सो बाढीमा परेर ज्यान गएको छ ।
पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पु¥याएको छ । यस प्रान्तमा मात्र सात सय ५९ जनाको ज्यान गएको छ ।
त्यसैगरी यहाँका अधिकारीहरूले सिन्धपछि बलुचिस्तान र खैबर प्रान्तमा पनि बाढीले क्षति पुगेको जनाएका छन् । यी दुई प्रान्तमा मात्र छ सयभन्दा बढीले ज्यान गुमाएका छन् । (रासस : सिन्ह्वा)