वीरेन्द्रनगर । जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडादौड प्रतियोगिता सम्पन्न भएको छ ।
३५ घोडाको सहभागिताका साथ सम्पन्न सो प्रतियोगिता कर्णाली स्पोर्ट क्लबद्वारा आयोजन गरिएको थितयो ।
करिब १७ वर्षअघि जुम्ला विमानस्थलमा हुँदै आएको सो प्रतियोगिता बन्द भएपछि क्लबले यस वर्ष पुनः सञ्चालन गरेको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको उहाँको भनाइ थियो ।
‘समाज विकासका लागि, असल परम्परा बचाइराख्न आवश्यक छ’ उहाँले भन्नुभयो– ‘चौडा सडक र अग्ला घर हुनुलाई विकास बुझ्ने मानसिकताले नै हाम्रा मौलिकता लोप हुने स्थितिमा पुगेको छ ।’
सो प्रतियोगितामा चन्दननाथ नगरपालिका–८ का आनन्द धराला, गुठीचौर गाउँपालिका–१ का हरिप्रसाद बस्नेत र गुठीचौर–२ का कालीप्रसाद बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएकोे थियो भने खुलातर्फ विकास बोहोरा, शङ्कर रोकाया र विपेन बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको क्लबले जनाएको छ । त्यस्तै पालिततर्फ चन्दननाथ नगरपालिका–१० का हर्कबहादुर शाही, गुठीचौर गाउँपालिका–५ का बिर्खबहादुर भण्डारी र गुठीचौर–२ का मुनसुर बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको क्लबले जनाएको छ ।
प्रतियोगिताको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच, तीन र दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । (रासस)