काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि संशोधन हुँदै छ ।
राजनीतिक दलहरूले संशोधित सूची बुझाउन अब एक दिन मात्र बाँकी हुँदा आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह गरेको हो ।
आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दललाई आग्रह गरेको थियो । आयोगको आग्रहमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्ने छ ।
सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने आयोगका सचिव एवम् उक्त प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले बताउनुभयो । उक्त प्रणालीमा ६८ दलले भाग लिएका छन् ।
संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्काे उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबीविरोधका लागि निवेदन दिने, असोज ३० गते दाबीविरोधको निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
आयोगले सो प्रणालीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो । सूची पेस गर्दा समानुपातिक र समावेशी सिद्धान्तबमोजिम रीत पुगेका आवश्यक कागजात अनिवार्य पेस गर्न आयोगले आज दलहरूलाई आग्रह गरेको थियो ।
आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयन दर्ता र मनोनयनको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ ।
त्यस्तै, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।