मस्को । रूसको इजेभ्स्क सहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाएअनुसार पश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको सहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन् ।
यसअघि यहाँको प्रशासनले दिएको जानकारीमा गोली लागी नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको बताइएको थियो ।
आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिह्न अङ्कित कालो टि–सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ ।
आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको समितिले जनाएको छ ।
आक्रमण भएको विद्यालयमा ९८२ विद्यार्थी र ८० शिक्षक रहेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।
रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतङ्कवादी हमलाको निन्दा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई “अमानवीय“ भन्दै कडारूपमा निन्दा गर्नुभएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बालबालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । उक्त आतङ्कवादी हमला स्पष्ट रूपमा नव–फासिस्ट समूहसँग सम्बन्धित रहेको क्रेमलिनका प्रवक्ताले बताउनुभएको छ ।
अल जजीराका अनुसार रुसका विद्यालयमा गोलीप्रहारका घटना विरलै हुने गर्दछ । एजेन्सी