नेपालगञ्ज । कथाकार कल्पना पौडेल ‘जिज्ञासु’को नीति कथा सङ्ग्रह ‘कल्पदीप’ को विमोचन भएको छ ।
बाँकेको खजुरामा एक कार्यक्रमबीच प्रज्ञा प्रतिसष्ठानका पूर्वसचिव प्राज्ञ सनत रेग्मीले उक्त कृतिको विमोचन गर्नुभयो ।
कथाको समीक्षा ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसकी क्याम्पस प्रमुख चरित्रा शाह र भेरी साहित्य समाज समालोचना विभागकी सदस्य मिना बरालले गर्नुभएको थियो ।
प्रमुख अतिथि रेग्मीले पशुपंक्षीलाई पात्र बनाएर सामाजिक जनजीवनलाई कथावस्तु बनाएर लेखिएका ३१ वटा कथाले समाजलाई सकारात्मक सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो । कथा बालबालिकाहरुले रुचाउने सरल र सरस बोधगम्य र सकारात्मक सन्देस दिनेखालका भएकाले विद्यालय स्तरीय पाठ्यक्रमको लक्ष पुरा गर्न पाठ्यपुस्तकमा समेट्न सकिने खालका रहेको समीक्षकहरूले प्रतिक्रिया दिनुभएको थियो ।
कार्यक्रमा साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने डा. ईन्द्रबहादुर भन्डारी, साहित्य सम्मान र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएकी निलसागर सेवा आश्रमकी संथापक अध्यक्ष सरिता खनाललाई फाउन्डेसनले सम्मान गरेको थियो ।
कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कथाकार कल्पना पौडेल ‘जिज्ञासु’को अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेसनका संरक्षक ऋषिराम सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।