काठमाडौं । पाँचदलीय गठबन्धनविरुद्ध राप्रपालगायत विभिन्न दलसँग चुनावी तालमेल गर्न गइरहेको नेकपा (एमाले)ले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेपाली कांग्रेस बिपीसँग पनि तालमेल गर्ने भएको छ ।
लोसपाले एमालेसँग तालमेल गर्न वार्ता टोली गठन गरेको जनाएको छ । मंसिर ४ मा हुन गइरहेको प्रादेशिक र संघीय निर्वाचनका लागि एमालेसँग तालमेलका लागि ६ सदस्यीय वार्ता टोली गठन गरेको हो।
लोसपा नेता लक्ष्मणलाल कर्णले एमालेलगायतका दलहरुसँग चुनावी तालमेलको पहल गर्न वार्ता टोली गठन गरिएको जानकारी दिए।
वार्ता टोलीमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, अनिल झा, सर्वेनद्रनाथ शुक्ल र जितेन्द्र सोनल रहेका छन्।
यसअघि नेपाली कांग्रेसले लोसपालाई पनि पाँचदलीय गठबन्धनसँग चुनावी तालमेलमा सामेल गर्ने प्रयास गरेको थियो।
पाँचदलीय गठबन्धनसँग अपेक्षअनुसार निर्वाचन क्षेत्र नपाइने भएपछि लोसपा एमालेसँग चुनावी तालमेलको प्रयासमा लागेको स्रोतको भनाइ छ।
एमाले र कांग्रेस बिपीबीच तालमेलको सहमति
यता, नेकपा (एमाले) र नेपाली कांग्रेस (बिपी) बीच पनि चुनावी तालमेल गर्ने सहमति भएको छ।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भएको छलफलमा दुई दलबीच सहकार्य गर्ने सहमति भएको मल्लका स्वकीय सचिव रामबहादुर विष्टले जानकारी दिए।
सो सम्बन्धममा दुईवटै पक्षले एक आपसमा गृहकार्य गरी चाडै टुंगो लगाउने सहमति भएको विष्टले बताए ।