धनगढी । चिकित्सा शिक्षा सुधारको माग राख्दै ६ दिनदेखि अनसनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यअवस्था विग्रँदै गएको छ । धनगढीमा बीसौँ सत्याग्रह सुरु गरेका केसीलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनसनस्थल धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । तर, केसीले औषधि सेवन गर्न अस्वीकार गरेका कारण उहाँको स्वास्थ्य समस्या जटिल बन्दै गएको उहाँका सहयोगी डा. अमृत जैसीले जानकारी दिनुभयो ।
आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यानमा तलमाथि भएपनि कुनै औषधि प्रयोग नगर्ने केसीको अडान छ । भदौ २७ गतेदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिए पछि २९ गते बेलुका अस्पताल भर्ना गरिएको थियो।
स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनु पर्ने, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित, संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नु पर्ने केसीको माग छ ।
केसीले उठाएका मागबारे वार्ता गर्न सरकारले बनाएको वार्ता टोलीले आइतबार अनसनरत पक्षसँग आइतबार पहिलो चरणको वार्ता गर्दैछ ।