काठमाडौं । अखिल नेपाल किसान महासंघ (अप्फा) ले निर्वाचन आयोगले लालपुर्जा वितरण गर्न रोक लगाएकोप्रति आपत्ति जनाएको छ ।
शनिबार विज्ञप्ति प्रकाशित गरी महासंघले निर्वाचनको आचारसंहितासमेत सुरु भइनसकेको अवस्थामा लालपुर्जा वितरणमा रोक लगाएर आयोगले किसान विरोधी कार्य गरेको आरोप लगाएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष तुलसीराम सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा ‘आचारसंहिता लागू नहुँदै लालपुर्जा वितरणमा रोक लगाउनु आयोगको गैरकानुनी र असंवैधानिक काम हो’ भन्नुभएको छ ।
महासंघका अध्यक्ष भैरवराज रेग्मी सुकुम्बासी आयोगको केन्द्रीय सदस्य हुनुहुन्छ भने देशका कैयौंँ जिल्ला आयोगमा महासंघको सहभागिता छ ।
पछिल्लो दिनमा आयोगले सुकुम्बासी, भूमिहीन, दलित तथा अव्यवस्थित बसोबासीलाई धमाधम लालपुर्जा दिने र व्यवस्थित गर्ने काम गर्दै आइरहेको थियो । तर, निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै पुर्जा वितरणमा रोक लगाएको छ ।