काठमाडौं । आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित लडाकु शिविरमा आक्रमण गरेको छ । कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ ।
अमेरिकाले हिज्बुल्लाहलाई आतंकवादी सङ्गठन मानेको छ । गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए ।
समाचारसंस्था रोएटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्ने बताइएको छ ।
इराकका सुरक्षा निकाय तथा लडाकुहरूले रोएटर्सलाई बताएअनुसार कम्तीमा १८ लडाकुको मृत्यु भएको छ। तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
कताइब हिज्बुल्लाह के हो ?
इरानको समर्थन रहेको शिया मुस्लिमहरूको मिलिसिया समूह कताइब हिज्बुल्लाह सन् २००७ मा गठन भएको हो । अमेरिकाका अनुसार उक्त समूहको इरानको कुड्स फौजसँग बलियो सम्बन्ध छ र यसले इरानबाट पटकपटक सहयोग प्राप्त गर्दै आएको छ ।
ट्रम्प प्रशासनले कुड्स फौज अमेरिकाप्रति लक्षित विभिन्न आतङ्कवादी समूहलाई लगानी गर्ने, तालिम, हतियार र विभिन्न किसिमका उपकरण दिने इरानी संयन्त्र रहेको आरोप लगाउँदै आएको छ । बीबीसी
