काठमाडौं । महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरुसँग बयान लिएको छ ।
बिहीवार समितिले नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वमहासचिव लीलामणि पौडेल, वर्तमान अध्यक्ष गोपाल कृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, ओमप्रकाश अर्याल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, ज्येष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसँग बयान लिएको हो ।
महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरुसँग आज बयान लिएको हो । बैठकमा आएर अधिवक्ताहरु प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिनुभएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताउनु भयो ।
उहाँले शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको पनि बताउनु भयो । उहाँले अहिले समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा भोलिको बैठकले निर्णय गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले वरिष्ठ अधिवक्ता ज्यूहरुले आएर यो विषयमा आफ्नो धारणा राखिसक्नुभएको छ । अर्को बैठक भोलि बिहान ९ बजे बस्ने र त्यसमा सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको छ । प्रतिवेदन लेख्ने काम भइरहेको छ । प्रतिवेदनको बारेमा भोलि निर्णय हुन्छ ।’
बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले चोलेन्द्र समशेर जबराबिरुद्ध यो महाअभियोगको प्रक्रियाको थालनीको लागि बारले खेलेको भुमिकाका बारेमा कसरी त्यस्तो परिस्थिति सिर्जना भयो भन्ने कुरा राखेको बताउनु भयो । उहाँले यो बयानले महाअभियोगको प्रक्रियालाई अझै बल पुगेको महशुस भएको बताउनु भयो ।
उहाँले समितिले आफूहरुसँग अझै प्रमाण भए त्यो पनि पेस गर्न भनेको बताउनु भयो । उहाँले सके यही संसदबाट टुंगो लाग्नुपर्ने र प्रक्रिया नसके महाअभियोगको मुद्दा अर्को संसदले जिम्मेवारी लिनेगरी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले महाअभियोगको स्पष्टीकरणका लागि दिएको मौकालाई दुरुपयोग गरेर आफूमाथि आरोप लगाएको बताउनु भयो ।
वरिष्ठ अधिवक्ता शाक्यले आफूमाथि लागेका आरोप निराधार रहेको उल्लेख गर्दे तत्कालीन समयमा न्यायका लागि संघर्षमा उत्रिएका कानून व्यवसायीहरुलाई विवादमा तान्न प्रधान्यायाधीश जबराले आफूहरुको नाम लिएको बताउनु भयो । महाअभियोग सिफारिस समितिको अर्को बैठक शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको छ ।