काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा आरोप लगाएका ६ जना न्यायाधीशलाई संसदीय समितिले बोलाएको छ ।
महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्दमणि भट्टराई, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र हरि फुयाँललाई बिहीबार समितिमा बोलाएको हो।
निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा उनीहरुलाई पनि विभिन्न आरोप लगाएपछि समितिले त्यस विषयमा छलफल गर्ने भएको हो।
समितिका सभापति रामबहादुर विष्टले छलफलका लागि बिहीबार बिहान साढे ८ बजे कामु प्रधानन्यायाधीशसहित आरोप लगाएका न्यायाधीशहरुलाई बोलाएको जानकारी दिनुभयो ।
बिहीबार नै दिउँसो ३ बजे सर्वोच्च बार र नेपाल बारका पदाधिकारीसहित चोलेन्द्रले आरोप लगाएका वकिलहरुलाई बोलाउने निर्णय भएको सभापति विष्टले बताउनुभयो ।
जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले करिब ६ महिनाअघि महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । हालै प्रतिनिधि सभाले बनाएको ११ सदस्यीय महाअभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको हो ।
समितिले जबरालाई विभिन्न ४३ वटा प्रश्न सोधेको थियो । ति प्रश्नको उत्तर दिने क्रममा सर्वोच्चका ६ जना न्यायाधीशलाई समेत जबराले विभिन्न आरोप लगाएपछि उनीहरुलाई पनि समितिमा छलफलका लागि बोलाइएको हो ।