बेनी । बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैङ्क स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैङ्क स्थापना गरिएको हो ।
‘आवश्यक पर्नेले बैङ्कमा आएर आफूखुसी रोजेर लुगा लैजान सक्छन्’ वडाध्यक्ष रमेश श्रेष्ठले भन्नुभयो– ‘वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । दिनेको नाम सार्वजनिक गर्छौँ ।’
हाल कपडा बैङ्कमा प्रयोगयोग्य लत्ताकपडा सङ्कलन भइरहेको छ । म्याग्दी जेसिजले आइतबार एक सय थान कपडा उपलब्ध गराएको थियो । जेसिजका शाखा अध्यक्ष सन्दीप खत्रीको टोलीले वडाध्यक्ष श्रेष्ठलाई कपडा हस्तान्तरण गर्नुभएको थियो ।
जेसिजका पदाधिकारी, सदस्य र बजारका व्यापारीबाट प्रयोग गर्नयोग्य तर उपयोग नभएका कपडा सङ्कलन गरिएको थियो ।
वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमानुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।
प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउन सकिने वडा सचिव विनिता रेग्मीले बताउनुभयो । अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति रु एक हजार सहयोग गरेका छन् ।
विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसम नजिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट ब्यहोर्नु नपरोस् भन्ने उद्देश्यले लत्ताकपडा सङ्कलनलाई तीव्रता दिएका छन् ।
त्यस्तै, बेनी नगरपालिका वडा नं ७ ले विपन्नको मृत्युपछि अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउन थालेको छ ।(रासस)