टेकराज भुसाल, बुटवल ।
अखिल (छैठौं) रुपन्देहीले शैक्षिकलगायतका क्षेत्रमा देखिएका समस्या समाधानको माग राख्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई छ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अखिल (छैठौं) का रूपन्देही अध्यक्ष सागर बेल्वासे, केन्द्रीय सदस्य टेकराज भुसाल, रुपन्देही उपाध्यक्ष कुलचन्द्र शर्मा र कोषाध्यक्ष बिमल खरेलसहितको प्रतिनिधि मण्डलले सो ज्ञापन बुझाएको हो ।
ज्ञापनपत्र बुझेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ज्ञापनपत्रमा रहेका मागलाई सम्बन्धित निकायसँग छलफल गरी सम्बोधन गर्ने बताउनुभयो ।
ज्ञापनपत्रको पूर्ण पाठ यस्तो छ :
“अखिल (छैठौं) देशको शिक्षा, स्वास्थ्य, मौलिक अधिकारप्राप्ति, प्रजातान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा अग्रभागमा क्रियाशील रहँदै आएको विद्यार्थी सङ्गठन हो । दर्जनौँ सहिदको बलिदान र दसौँ हजार योद्धाको योगदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको आवश्यकता हो । सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि विभिन्न समयमा गठन भएका सरकारबाट खेलवाड भइरहेको छ । देशमा देखिएका समस्याको उठान गरी ती समस्या समाधानका लागि यो ज्ञापनपत्र पेस गरिएको छ ।
१. माध्यमिक विद्यालयसम्म निःशुल्क गरिएको अवस्थामा जिल्लाका सरकारी विद्यालयले विभिन्न शीर्षकमा शुल्क असुल गरिरहेका छन् । गैरकानुनी ढङ्गले असुल गरिएको शुल्क फिर्ता गर्न र शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गर्दछौँ । विद्यालयमा पूर्वाधारको अवस्थाबारे प्रष्ट रिपोर्ट तयार गरी पूर्वाधार र ल्याबको व्यवस्था गरियोस् । विद्यालयमा अपुग दरबन्दीको व्यवस्था गरियोस् ।
२. निजी विद्यालयले बढी शुल्क लिने र योग्यता नपुगेका शिक्षक राख्ने गरेको पाइएको छ । निजी विद्यालयमाथि अनुगमन गरी योग्यता नपुगेका शिक्षक हटाई योग्यता पुगेका शिक्षक राख्ने व्यवस्था गरियोस् । मापदण्ड र पूर्वाधार नपुगेका निजी विद्यालय बन्द गरियोस् ।
३. जिल्लाका अस्पतालमा विद्यार्थीलाई निःशुल्क उपचारको व्यवस्था गरियोस् । हरेक विद्यालयमा मासिक रूपमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरियोस् । महिला विद्यार्थीलाई गुणस्तरीय स्यानिटरी प्याड वितरण गरियोस् ।
४. जिल्लाभित्र र बाहिर चल्ने सवारी साधनमा विद्यार्थीले प्राप्त गर्ने ४५ प्रतिशत सहुलित दिने गरिएको छैन । सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट तत्काल लागु गरियोस् । लागु नगर्ने सवारीसाधनलाई कडा कारबाही गरियोस्।
५. सवारी दुर्घटना बढिरहेका छन् । सवारी दुर्घटना कम गर्नका लागि यातायात व्यवसायी, चालक र ट्राफिक प्रहरीबिच नियमित अन्तरक्रिया, सवारीको चेकजाँच गर्ने र पुराना सवारी साधनलाई सञ्चालन गर्न रोक लगाइयोस् ।
६. बलात्कार, आत्महत्या र महिला हिंसाका विरुद्धमा जिल्लाका सबै विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरियोस् ।”