काठमाडौं । सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्धित्तीयको निधनप्रति नेपालले तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो (भदौ २३ गते) निधन भएको थियो । उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
सरकारले दुखःद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
राष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजावेथ द्वितीयाप्रति श्रद्धान्जली अर्पण गर्नुभएको छ ।
शुक्रबार काठमाडौंस्थित बेलायती दूतावास पुगी राष्ट्रपति भण्डारीले दूतावास हातामा राखिएको शोक पुस्तकमा हस्ताक्षर गर्नुभएको हो । राजदूत निकोला पोलिटले राष्ट्रपति भण्डारीको दूतावासमा उपस्थिती बेलायती दूतावासका लागि भावुक क्षण रहेको ट्विटमा जनाएकी छिन् ।
बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो। करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ । रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन् ।