गणेश अधिकारी, पोखरा ।
राष्ट्रिय जनामोर्चाले कास्कीको क्षेत्र नम्बर ३ हेम्जामा निर्वाचनकेन्द्रित प्रशिक्षणात्मक भेला सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालले नेपाली जनताको हित र कल्याणका लागि राष्ट्रिय जनमोर्चाले पहिलेदेखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । राजमो राष्ट्रियताको पक्षमा उभिँदै आएको बताउँदै उहाँले सबै राष्ट्रवादी नेपाली राजमोको झन्डामुनि गोलबन्द हुनुपर्ने बताउनुभयो ।
नेता बरालले सङ्घीयताको खारेजी, संसद्बाट पास गरिएको विवादित एमसिसी तथा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपिपी र नागरिकता विधेयक जस्ता राष्ट्रघात विरुद्धमा मङ्सिर ४ गते हुने दुवै तहको निर्वाचनमा राजमोका उम्मेदवारलाई गिलास चिह्नमा मतदान गरी विजय गराउनका लागि आग्रह गर्नुभयो ।
भेलाले टमबहादुर रोकामगरको संयोजकत्वमा ४१ सदस्यीय क्षेत्रिय निर्वाचन परिचालन समिति बनाएको छ ।
राजमो कास्कीका जिल्ला उपाध्यक्ष टमबहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत चन्द्रबहादुर केसी र सञ्चालन विष्णु पुरीले गर्नुभएको थियो ।