काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने एक जना सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ ।
मन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शुक्रबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका श्रेष्ठलाई त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड शेरजंग गुरुङले सबैलाई नियम बराबर हुने भन्दै ‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भनेका थिए ।
सुरक्षागार्डले दुर्व्यवहार गरेको भन्दै मन्त्री श्रेष्ठले पीएसओमार्फत जाहेरी दिएका छन् । उनलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ ।
मन्त्री जीवनराम श्रेष्ठले ती सुरक्षागार्डलाई पक्राउ गर्न गृहमन्त्रीलाई पत्र नै लेखेका थिए ।
आफूलाई सुरक्षा गार्डले रोकेकपछि रिसाएका मन्त्री श्रेष्ठले गृहमन्त्रालयलाई पत्र पठाउँदै सुरक्षा गार्डमाथि कारबाही गर्न भनेको खुलेको हो । गुरुङ अहिले दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा छन्।