काठमाडौं । पाँचदलीय गठबन्धनको शीर्ष तहमा विभिन्न दलले दाबी गरेको सिट संख्या प्रस्ताव गरिएको छ । बुधबार बसेको शीर्ष नेताहरुको बैठकमा सिट संख्याबारे प्रस्ताव पेश गरिएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले सहमति जुटाउन नसकेपछि कार्यदललाई राखेर शीर्ष तहको बैठक बसेको हो ।
सिट बाँडफाँटबारे छलफल सकारात्मक रहेको तर, टुंगो लाग्न भने बाँकी रहेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार पार्टीभित्र छलफल गरी बिहीबार बिहान ११ बजे पुनः बैठक बस्नेछ ।
शीर्ष नेताबीचको छलफलमा आजै सिट संख्या बाँडफाँट टुंगो लगाउने गरी छलफल भएको थियो । तर, सहमति नजुटेपछि पार्टीभित्र आन्तरिक छलफल गरेर फेरि भोलि ९बिहीबार० बैठक बस्ने र टुंगो लगाउने सहमति भएको ती नेताले बताए।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनले बनाएको कार्यदल सहमति जुटाउन असफल भएपछि शीर्ष नेताहरुसहित छलफल भएको हो ।
अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ । प्रदेश सभामा भने माओवादी केन्द्रले १ सय २० सिट दाबी गरेपनि अरु दलले सार्वजनिक गरेका छैनन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र सचिव हिमलाल पुरी, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।





