बुटवल, शङ्करप्रसाद पोख्रेल
प्युठान–रुपन्देही सम्पर्क मञ्चले बुटवलको ब्लड बैङ्क केन्द्रमा रक्तदान कार्यक्रम तथा तिजमिलन कार्यक्रम २०७९ भदौ १२ गते आइतबार सम्पन्न गरेको छ ।
बिहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गर्नुभएको मञ्चका अध्यक्ष श्यामलाल पोख्रेलले बताउनुभयो ।
सम्पर्क मञ्चका अध्यक्ष तथा प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय संयोजक श्यामलाल पोख्रेलको अध्यक्षता, सचिव प्रदीप जिसीको सञ्चालन र पदमप्रताप जिसीको स्वागत मन्तव्यमा सो कार्यक्रम आगाडि बढेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्का, अन्य अथितिमा अखिल (छैठौँ) का महासचिव सुबास जिसी, केपी पोख्रेल, लोक गायक प्रचण्ड जिसीलगायतको उपस्थित रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि अर्थमन्त्री कृष्णध्वज खड्काले राजनीतिलाई टाढा राखेर आपसी भाइचाराद्वारा अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
त्यसैगरी अध्यक्षता गर्नुभएका मञ्चका अध्यक्ष श्यामलाल पोख्रेलले मञ्चको तर्फदेखि समस्या र उपाय बताउँदै मञ्चका मागहरू प्रदेशमन्त्री खड्कासमक्ष मौखिक रूपमा राख्नुभएको थियो । उहाँले प्युठान–रुपन्देही सम्पर्क मञ्च कुनै एक राजनीतिक पार्टीको नभई सबैको साझा
भएकाले राजनीति आस्था फरक फरक भए पनि संस्था चलाउन सबै प्युठानी एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा पत्रकार महासङ्घका रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
