सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निर्वाचित सबै सांसदलाई मन्त्री बन्ने मौका दिएको छ ।
आफ्ना ११ जना सांसदमध्ये मन्त्री बन्न बाँकी २ जनालाई मन्त्री बनाउन माओवादीले दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । मन्त्री हुन बाँकी माओवादी केन्द्रकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई मन्त्री बनाउने माओवादीको तयारी छ ।
स्रोतकाअनुसार त्यसका लागि उर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाउन लागेको हो । सात महिनाअघि सिंह र विष्ट सरकारमा सहभागी भएका थिए ।
पूर्वमन्त्री एवम् माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार रुकुम पश्चिमबाट निर्वाचित सांसद कामी र जाजरकोटकी सांसद शाहलाई मन्त्रिपरिषद्मा पठाउने तयारी थालेको हो । पार्टी केन्द्रको निर्देशनअनुसार सिंह र विष्टलाई फिर्ता बोलाएर कामी र शाहलाई मन्त्री बनाउन लागेको उनले बताइन् ।