काठमाडौं । पाँचदलीय गठबन्धन बैठकमा पहिलो पटक दलहरुले सिट संख्या दाबी पेश गरेका छन् । बिहीबार बसेको सिट बाँडफाँट कार्यदलको बैठकमा पाँचै दलले आ–आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसा नेपाली कांग्रेसले एक सय सिटमा दाबी गरेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४० र जनता समाजवादी पार्टीले ३५ सिटमा दाबी गरेका छन् ।
राष्ट्रिय जनमोर्चाले कम्तिमा दुई सिट नघट्ने गरी दाबी पेश गरेको छ । राष्ट्रिय जनमोर्चाले बाग्लुङ र प्युठानलाई आफ्नो बटमलाइन बनाएको छ ।
गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाटको लागि बनाएको कार्यदलमा पाँच वटै दलले आफ्नो दाबी औपचारिक राखेका हुन् ।
प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १ सय ६५ सिट छन् । अब शुक्रबार दिउँसो ४ बजे बस्ने कार्यदलको बैठकमा निर्वाचन क्षेत्रको अवस्थासहित छलफल गर्ने ती नेताले बताए ।